गोविन्द पौडेल,रोङःकोशेलीको रुपमा रहेको इलामको अकबरेले अहिले जिल्लाको चिनारी बनाउदै देश बिदेशमा ख्याती कमाउदै गएको छ । लामो समयदेखी इलाममा खेती गरिँदै आएको अकबरे स्थानिय बजारमा कोशेलीको रुपमा बेचिने गरेको भएपनि अहिले इलामको निर्यातबाली बन्दा किसानहरुको आर्थिक स्तर उकास्न पनि सहयोगी बन्दै गएको छ । इलामका अधिकांस स्थानमा उत्पादन हुने अकबरे खुर्सानी स्थानिय बजार राजधानी र अन्यशहरहरु तथा भारतका बिभिन्न बजारसम्म पुग्ने गरेको थियो । तर कोभिडको कारण भारतिय बजारहरुमा निकासी नभएपनि नेपालका बिभिन्न शहरहरुका अचार उद्योगमा माग बढेको छ । माइजोगमाइ को सोयाङ्गमा उत्पादन हुने अकबरे बुटवलको एक अचार उद्योगमा जान थालेको सोयाङ्गका किसान गोकर्ण चापागाईले बताए ।
अहिले सम्म कहि कतैबाट सहयोग नपाएका भएपनि यहाबाट हप्तामा ५ सय किलोसम्म पाकेको अकबरे बुटवल पठाउने गरेको चापागाइको भनाइ रहेको छ । यहाका किसानहरुले १० देखी १२ हजारसम्म अकबरेको बिरुवा लगाएपनि यसपाली बर्षाको कारण धेरै बिरुवाहरु मरेको अर्का किसान भूपेन्द्र चापागाइको भनाइ रहेको छ । यहाँका किसानहरुले आफ्नै बारीबाट ३ सय बीस रुपैया प्रतिकिलो बेच्ने गरेको र एक किसानले हप्तामा ६० किलोसम्म सम्म खुर्सानी उत्पादन गर्ने गरेको उनिहरुको भनाइ रहेको छ ।
खुर्सानी खेतीमा राम्रो संभावना रहेको भएपनि प्राबिधिक ज्ञान नहँुदा र सेवा नपाउदा बोट ओइलाउने मर्ने जस्ता समस्याहरु रहेपनि अहिले सम्म स्थानिय सरकार र निकायले कुनै चासो र सहयोग नगरेको अर्का किसान बिनोद खत्रीको गुनासो रहेको छ । किसानहरुले आफ्नै तरिका र अनुभवले एकबर्षे खुसानी खेती गर्ने गरेको उनिहरुको भनाइ छ ।