दसैंमा घरमा टीका लगाउन नआइदिनुस भन्दै आइसोलेसनबाट हरिवंशले गरे अपिल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौँ, वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य कोभिड (१९ पोजिटिभ देखिएपछि ११ दिनदेखि होम आइसोलेसनमा छन् । पत्नी रमिलामा पनि संक्रमण देखिएको छ ।

दुवैमा सामान्य लक्षणहरु देखिएपछि हरिवंश दम्पत्तीले गत १९ असोजमा पीसीआर परीक्षण गराएका थिए । दुवैजनाको पोजेटिभ रिपोर्ट आयो । त्यसपछि उनीहरु आफ्नै निवासमा ‘आइसोलेट’ भएर स्वास्थ्यलाभ गरिरहेका छन् । अहिले दुबैको स्वास्थ्य राम्रो रहेको हरिवंशले जानकारी दिए ।

‘पहिले देखिएका लक्षणहरु अहिले छैनन्, हामी दुवै सामान्य अवस्थामा छौं,’ उनले अनलाइनखबरसँग भने । आगामी आइतबार पुनः पीसीआर परीक्षण गराउने उनले बताए ।

संक्रमणमुक्त भइसकेपछि पनि पहिलेजस्तो निस्फिक्री भएर हिँड्ने मुडमा उनी छैनन् । नजिकै आएको दसैंमा आफू पनि अरुको घरमा नजाने र अरुलाई पनि आफ्नोमा नआउन आग्रह गर्ने हरिवंशको सोचाइ छ ।

उनले सबै नेपालीलाई यसपालिको दसैं सकभर आफ्नै परिवारभित्र सीमित राख्न सुझाव दिएका छन् । उनले दसैंमा आफ्नो घरमा टीका लगाउन नआइदिन आग्रह समेत गरे ।

हरिवंशको कोरोना अनुभव, उनकै मुखबाट

७,८ महिनादेखि हामीले कोरोनाको विषयमा सुन्दै आयौं । वुहानदेखि इटलीसम्मका त्रासदी कथाहरु सुनिरहँदा हाम्रो देशमा त यो अवस्था नआउला भन्ने लागेको थियो । अन्ततः हाम्रो देशमा आयो । सुरुमा एक(दुईजना संक्रमित देखिँदा निकै डर थियो । अहिले आफैंलाई संक्रमण भएको छ ।

सुरुमा श्रीमती रमिलालाई जिउ दुख्ने समस्या भयो । ज्वरो पनि आउन थाल्यो । त्यसपछि खानेकुराको स्वाद र गन्ध थाहा महसुस गर्न छाडिन् । त्यो भएपछि चैं कोरोनाको आशंका बढ्यो । मलाई पनि १र२ दिन ज्वरो आउने र जिउ दुख्ने भयो ।

शंका बढेपछि हामीले एकैसाथ पीसीआर परीक्षण गरायौं । हुन त त्योभन्दा एक हप्ताअगाडि पनि हामीले पीसीआर गराएका थियौं । त्यसबेला कुनै लक्षण नभए पनि एउटा अस्पतालले हामीलाई ‘रोग प्रतिरोधात्मक क्षमता पनि थाहा हुन्छ र कोरोना संक्रमण भए(नभएको पनि एकिन हुन्छ’ भनेर बोलाएको थियो । मेरो र मदन दाइको परिवारका सबैजनाले परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको एक साताभित्र कहाँबाट हामीलाई संक्रमण सर्यो भन्नेमा अनभिज्ञ छु ।

म जरुरी अवस्थामा बाहेक घरबाहिर निस्केको थिइनँ । बाहिर निस्कँदा अनिवार्य मास्क लगाउँथेँ । सेनिटाइजर गोजीमै बोकेर हिँड्थे । मान्छेहरुसँग सकेसम्म दुरी कायम गर्थेँ । सबै सचेतता अपनाउँदा पनि सर्‍यो ।

दसैंमा म मेरो घरमा टीका लगाउन नआइदिनुस् र म पनि तपाईंकहाँ आउन सक्दिनँ भनेर सार्वजनिक अपील नै गर्नेछु । सबैले परिस्थितिलाई बुझ्नुभएकै छ

रिपोर्ट पोजिटिभ देखिए पनि म डराउन चाहिँ डराइनँ । पहिलो त कडाखालको लक्षण थिएन । अर्को, हामी दुवैलाई कुनै दिर्घरोग थिएन । हामी आफ्नो स्वास्थ्यप्रति पहिल्यैदेखि सजक छौं । दैनिक एक(डेढ घन्टा आफ्नो शरीरका लागि दिन्छौं । बिहान शारीरिक अभ्यास र मर्निङवाक गर्छौं । खानपिनमा पनि सचेतता अपनाउँछौं । जंक फुडहरु खाँदैनौं । उमेरले धेरै बुढाबुढी भइसकेका पनि छैनौं । त्यसैले पोजिटिभ आयो भने पनि सामना गर्न सकिन्छ भनेर मानसिकरुपमा तयार थियौं ।

भाग्यवस हामीलाई कडा लक्षण देखिएन । यद्यपि, रिपोर्टले भाइरसको कन्टेन्ट मेरो शरीरमा धेरै देखाएको छ । ल्याबका डाक्टरहरुले पनि मलाई बढी केयर गर्न भन्नुभएको थियो । मेरो नजिकका साथीभाईहरु चिकित्सा क्षेत्रमा हुनुहुन्छ । उहाँहरुले पनि आवश्यक सल्लाह(सुझाव दिनुभएको थियो । भाइरसको कन्टेन्ट बढी देखिए पनि ममा कडा लक्षण नदेखिनुले मेरो रोग प्रतिरोधात्मक क्षमता बलियो नै रहेछ भन्ने महसुस भएको छ ।

रिपोर्ट आएपछि टेकु अस्पतालबाट फोन आयो । प्राइभेटमा परीक्षण गरे पनि सबै सूचना एउटै सिस्टममा जाँदोरहेछ । त्यो राम्रो लाग्यो । वडा कार्यालयका कर्मचारीले पनि फोन गरेर विभिन्न सोधपुछ गर्नुभयो । अरु आफन्त र शुभचिन्तकको फोनहरु त उठाएरै साध्य भएन । त्यसैले मैले दुई दिन फोन अफ नै गरेँ ।

मलाई सबैभन्दा बढी चिन्ता मदन दाइको थियो । उहाँको स्वास्थ्यमा अन्य जटिलताहरु भएकाले कोरोना संक्रमण भएको खण्डमा गाह्रो पनि हुन सक्थ्यो । हाम्रो रिपोर्ट आएको तीन दिनपछि उहाँले पीसीआर परीक्षण गराउनुभयो । नेगेटिभ रिपोर्ट आयो । त्यसले मलाई ठूलो सन्तोष मिल्यो । मेरा छोरा र बुहारीको पनि नेगेटिभ आयो ।

मैले योबीचमा एउटा विज्ञापन फिल्ममा अभिनय गरेको थिएँ । त्यसमा काम गरेका सबैको रिपोर्ट नेगेटिभ आयो । आफूले अरुलाई सारेको रहेनछु भन्ने कुराले मलाई निकै राहत मिल्यो । आधा रोग नै ठीक भए झैं लाग्यो ।

रिपोर्ट आएपछि हामी पूर्णरुपमा घरभित्र आइसोलेट भएका छौं । घरको माथिल्लो तल्लामा छोरा र बुहारी बस्छन् । हामी श्रीमान(श्रीमती तल्लो तल्लामा बस्छांै । बेग्लाबेग्लै फ्ल्याट भएकाले बसाईको कुनै असुविधा छैन । भान्साकोठा माथिल्लो तल्लामा छ । छोराबुहारीले खाना बनाएर तल ल्याएर राखिदिन्छन् । हाम्रा भाँडाकुँडा छुट्टै छन् । खाइसकेर तलै वाथरुममा सफा गर्छौं । बाहिर निस्किएका छैनौं ।

खानपिन सामान्य नै छ । बेसारपानीलगायत झोल पदार्थहरु नियमित खाइन्छ । बाफ दैनिक लिने गरेका छौं । अहिले दुबैजनाको स्वास्थ्य राम्रो भएको छ । श्रीमतीले ज्वरो आउँदा सिटामोल खानेबाहेक अरु औषधि आवश्यक परेन । उनको घ्राण क्षमता पनि फर्किएको छ । अहिले सबै सामान्य छ । आइतबार अर्को पीसीआर गराउने छौं । नेगेटिभ आउने विश्वास छ ।

घरभित्र खासै पट्यारिलो लागेको छैन । बिहान उठेर एक घन्टाजति हल्का ब्यायाम गर्छु । श्रीमतीले पनि योग गर्छिन् । दिउँसो लेखपढको काम गरिरहेको छु । पछि काम लाग्छ भन्ने हिसाबले कथाहरु लेखिरहेको छु । बेलुकाचाहिँ दुईजना बसेर टीभी हेरिन्छ । टाइम पास सहजै भइरहेको छ ।

मेरो विचारमा कोभिडलाई धेरै कमजोर ठान्नुहुँदैन र एकदमै डरलाग्दो पनि ठान्नुहुँदैन । संक्रमण नभएकाहरुले अत्यधिक सचेत रहनुपर्छ र संक्रमण भयो भने उच्च मनोबल राख्नुपर्छ ।

धेरैलाई लक्षण नै नदेखिने, कसैलाई सामान्य लक्षण देखिएर आफैं ठीक हुने भएकाले यो मामुली रोग रहेछ भन्ने पनि कतिपयलाई परेको छ । तर, त्यसो भनेर खेलाँची गर्न थालियो भने अप्ठेरो अवस्था पनि आउन सक्छ । किनभने यो ज्यानै लिनसक्ने रोग हो । नत्र संसारभर यति ठूलो त्रासदी किन हुन्थ्यो ।

हाम्रो देशको स्वास्थ्य प्रणाली कमजोर नै छ । अहिले अस्पतालहरुमा अक्सिजनको अभाव भएको, भेन्टिलेटर भरिएको जस्ता समाचारहरु आइरहेका छन् । त्यसैले यदि कडाखालको संक्रमण भयो भने सहज उपचार नपाउने अवस्था हुन सक्छ । तसर्थ, सचेत रहनुको विकल्प छैन । स्वास्थ्य मापदण्डहरु पालना गरेर कडा अनुशासनमा बस्न सबैलाई सुझाव दिन्छु ।

अहिले दिनानुदिन संक्रमितहरु बढिरहेका छन् । आगामी दिनहरुमा अझै बढ्ने खतरा किन छ भने ठूला चाडपर्वहरु नजिकिएका छन् । हामी नेपालीहरु चाडपर्व मनाउँदा सबै कुरा बिर्सेर फुक्काफाल भएरै मनाउँछौं । तर, यसपालि अवस्था जटिल छ । अघिल्ला वर्षहरुमा जस्तो घर(घरमा गएर टीका लगाउने परिस्थिति छैन । सकभर सबैले यो दसैं आफ्नै परिवारभित्र सीमित राख्नु उचित हुन्छ । मेरो आफ्नो योजना पनि त्यस्तै छ ।

म आफ्ना छोरा(बुहारीलाई टीका लगाइदिनेछु । संस्कृतिअनुसार दसैंमा निधार खाली राख्नुहुन्न भन्ने मान्यता छ । त्यसैले मेरा दिदीहरु र श्रीमतीका बुवाआमाको हातबाट टीका लगाउनेछौं । अन्यत्र कतै पनि जाने विचार छैन ।

म दसैंमा मेरो घरमा टीका लगाउन नआइदिनुस् र म पनि तपाईंकहाँ आउन सक्दिनँ भनेर सार्वजनिक अपील नै गर्नेछु । सबैले परिस्थितिलाई बुझ्नुभएकै छ । अरुलाई पनि यही तरिका अपनाउन सुझाव दिन्छु । यसपालि कोही टीका लगाउन तपाईंकोमा आएन भनेर नरिसाउनुस् । अनि, कसैले मकहाँ नआउनुस् भन्दा पनि नरिसाउनुस् । यो तपाईंकै स्वास्थ्यका लागि हो ।

सरकारले नै लकडाउन वा निषेधाज्ञा जारी गरेर दसैंलक्षित आवत(जावत बन्द गर्नुपर्छ भन्ने कुराहरु पनि कतिपय कोणबाट आएका छन् । मेरो विचारमा यसो गर्न सरकारले अलि हिम्मत नगर्ला ।

दसैं नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले यसबेला लकडाउन गर्दा एउटा तप्कामा आक्रोश पनि उत्पन्न हुन सक्छ । धर्म(संस्कृतिसँग जोडिएका कुराहरु संवेदनशील हुन्छन् । सरकारले अनुरोधसम्म गर्न सक्छ । त्यसलाई पालना गर्ने नागरिक आफैंले हो । सबै कुरामा सरकारको भर परेर पनि हुँदैन । यस्तोबेला जनताले सरकारभन्दा ठूलो भएर सोच्नुपर्छ । अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय