इलाम,इलामको मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । कम मिहिनेतमा उत्पादन र उच्च मूल्य पाउन थालेपछि किसानहरुको आकर्षण मौरीपालनमा बढेको हो।
स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह प्रतिकिलो एक हजारदेखि एक हजार २०० रुपैयाँसम्म बिक्री हुने गरेको छ। यहाँ उत्पादित मह स्थानीय बजारका साथै झापा, काठमाडौं र भारतमा समेत बिक्री हुने गरेको छ।
रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका, इलाम नगरपालिका, सूर्योदय नगरपालिका तल्लो भागमा व्यावसायिक रुपमा मौरीपालन गरिन्छ। मौरीपालनलाई व्यवस्थित गर्न रोङ गाउँपालिकाले मौरी विकास शाखा स्थापना गरेको छ। कृषि विकास शाखाबाट कार्यक्रम कार्यान्वयन हुने गरी तालिम दिएपछि मौरीपालनमा किसानहरुको आर्कषण बढेको गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङ्बोले बताए।
इलामको ग्रामीण क्षेत्रमा परम्परागत रुपमा मौरीपालन गर्दै आएका किसानहरुले घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह र अन्य संस्थाहरुले तालिम दिएपछि आधुनिक घारहरु राख्ने गरेका छन्।
रोङ गाउँपालिकाको ६ वडामा २०० भन्दा बढी व्यावसायिक मौरीपालक किसान छन्। यहाँका बालीमा विषादी प्रयोग नहुने र खुला चरिचरण हुने भएकाले मौरीका लागि उचित स्थान रहेको बताइन्छ। चुरे क्षेत्रका जमिनमा खेतीपातीको सट्टा मौरीलाई चाहिने बोटबिरुवा लगाउँदा भू–क्षय समेत नियन्त्रण हुने भएकाले चुरे संरक्षणसँगै किसानहरुको आम्दानी वृद्धिका लागि मौरीपालनलाई प्रवर्द्धन गरिएको गाउँपालिका अध्यक्ष शम्शेर राई बताउँछन्। तीन वर्षअघि स्थापित मौरी स्रोत केन्द्रले मह संकलन र बजारीकरणको काम गरिरहेको अध्यक्ष राईले बताए। शुद्ध महको माग बढिरहेकाले आफ्नो कार्यक्रम प्रभावकारी रहेको र जनताले समेत रुचाएको उनको दाबी छ। कार्यक्रमअन्तर्गत शुद्ध मह उत्पादन, मौरीको स्याहार र महको उत्पादन बढाउने विषयमा किसानलाई प्राविधिक सहयोग गर्ने र आगामी दुई वर्षभित्रमा मौरी स्रोत केन्द्र आफैँ आत्मनिर्भर रहने गाउँपालिकाले बताएको छ।
औषधीय गुणको भण्डार मानिने महबाट मानव शरीरलाई चाहिने काब्रोहाइडेट, प्रोटिन म्याग्नेसियमर भिटामिन, हेमोग्लोबिन र ग्लोकुज पाइन्छ। महलाई रुघाखोकी, कब्जीयत, सुक्खा खोकी, रक्त अल्पता, दुब्लोपन, मोटोपन, मानसिक समस्या, अनिन्द्रा, हाडजोर्नी समस्यालगायतको रोगको अचुक औषधि मानिने गरिन्छ।
गाउँपालिकाले मौरीपालनका लागि गत वर्ष १५ लाख र यस वर्ष पनि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। सरकारी तथ्यांकअनुसार इलामका दुई हजार किसानले मौरीपालन गरेका छन्। इलाममा वार्षिक २२ मेट्रिक टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ। थाहाखबरबाट