
फिक्कल,हेमन्त आचार्यःपछिल्लो समय कृषिमा यान्त्रिक प्रविधि भित्रिएसंगै कृषकहरु ब्यवसायिक र आधुनिक कृषि प्रणाली अवलम्बन गर्न थालेका छन् । मेसिनको प्रयोगबाट छोटो समयमा कम लागत र बिना झन्जट काम गर्न सकिने हुँदा किसानको आकर्षण यान्त्रिक प्रयोगमा बढेको छ ।
ठूलो सङ्ख्यामा युवाहरू रोजगारीका निम्ति विदेश जानथालेपछि देशभरकै गाउँघरमा कृषि मजदुरको अभाव भएका छन्। परम्परागत हलगोरुबाट खेतीपाती गर्दै आएका इलामका किसानहरूले कृषि मजदुरको अभाव भएपछि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाती गर्न थालेका छन्।



कृषि मजदुर र खेताला पाउन छाडेपछि किसानहरूले खेतबारी जोताउन पावर टिलर, हाते ट्रयाक्टरकै प्रयोग गर्न थालेको बताएका छन्। कात्तिक,मंसिर र पौष महिना हिउँदे आलु,मटर,तोरी जस्ता सागसब्जि रोप्ने समय भएको हुँदा अधिकांश किसान यतिबेला बारीमा भेटिन्छन् ।
गोरुले जोतिदै आएको बारी आजभोलि मिनिटेलर (हातेट्याक्टर)ले जोत्दा लागत कम लाग्ने,बारी गहिरो जोतिने र डल्ला फोर्ने झन्जटबाट मुक्त हुने अनुभव सुनाउँछन् इलामको सूर्योदय नगरपालिका वडा नं ३ का किसान गोविन्द आचार्य । प्रति घन्टा ६ सय देखि ९ सयका दरले बारि जोत्दा दिनको सम्पूर्ण खर्च कटाएर ५ हजार भन्दा बढी आम्दानी हुन्छ । जसबाट घरपरिवार चलाउन धेरै सहज भएको हाते ट्याक्टर चालक सुरज गुरुङ्गको भनाई छ । गुरुङ्गले विगत ३ बर्ष देखि मिनिटेलरले बारी जोत्दै आईरहेका छन् ।
मिनिटेलेर मात्र होईन सूर्योदय नगरपालिकाका अधिकांश स्थानमा चिया टिप्ने,स्किप गर्ने काठदाउरा काट्ने मेसिनको प्रयोग बड्दो छ । काम गर्न सक्ने युवाजनसक्ति विदेसिने क्रमले खेताला तथा भारोपर्मको भरमा कृषि कार्य गर्न असहज भईरहेको समयमा यान्त्रिक प्रयोगले कृषिमा आकर्षण बड्न थालेको छ भने अर्कोतर्फ धेरै युवालाई आफ्नो ठाँउमा राम्रो कमाई हुने रोजगारी समेत मिलेको सूर्योदय नगरपालिका वडा नं १ का किसान जगन्नाथ अकिारीले बताएका छन् ।
सूर्योदय नगरपालिका विशेष गरेर चिया सागसब्जि तथा दुग्ध उत्पादनमा जिल्लाकै अगाडि छ । नेपाली तथा भारतिय बजारमा सहजै कृषि उत्पादन बिक्री हुने र उर्वर माटो भएका कारण जुनसुकै बाली समेत फस्टाउने हुँदा यस क्षेत्रमा अन्य स्थानबाट बसाँईसरेर आउने क्रम पनि बड्दो देखिन्छ । आजभोलि घरबारी देखि जंगलसम्म मेसिनको आवाज सुनिन्छ । यो गुन्जनले परम्परागत कृषि प्रणालीलाई विस्थापित गरि आधुनिक कृषि भित्रिएको प्रष्ट देखिन्छ ।
कृषियन्त्रको प्रयोगले समय र श्रमको बचत हुने भएकाले पनि कृषक कृषियन्त्रतर्फ आकर्षित भएको उनीहरू बताउँछन्। सूर्योदय नगरपालिकाले समेत कृषिमा मेसिनको प्रयोगलाई बढाउन लागत साझेदारी तथा ब्याज अनुदानका कार्यक्रमहरु संचालन गरिरहेको छ । यस्ता कार्यक्रमलाई अझ ब्यापक बनाई कार्यक्रम वास्तविक किसान समक्ष पुग्न सके सूर्योदय नगरपालिका आधुनिक कृषि पर्यटनको नयाँ गन्तब्य बन्ने पक्का छ ।