इलामको रोङ गाउँपालिकाले पाटापुरलाई जलवायु अनुकुलित गाउँ बनाउँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कल, १२ फागुनः इलामको रोङ गाउँपालिका वडा नं ६ मा पर्ने पाटापुर गाउँलाई जलबायु अनुकुलित नमूना गाउँ घोषणा गरिने भएको छ । जलवायु परिवर्तनका असरहरूलाई न्युनिकरण गरी जलवायु प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ यस क्षेत्रलाई जलवायुमैत्री नमूना गाउँ घोषणा गर्न लागिएको पालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभएको छ । घोषणाको अन्तिम तयारीमा रहेको उक्त कार्यक्रमका लागि सोलार लिफ्टीडं प्रविधिको सीचाई आयोजना निर्माण गरिएको स्याङ्बोले बताउनुभयो ।

उहाँका अनुसार, नामसालिङ सामुदायिक विकास केन्द्र मार्फत सोलार लिफ्टीङ प्रविधिको सीचाई आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम संचालन भएको हो । नामसालिङ सामुदायिक विकास केन्द्रका टिम लिडर हिराकाजी घलेका अनुसार गाउँमा रहेको सुख्खा जमिनमा सीँचाई सुविधा उपलव्ध गराई यहाँ जलवायु अनुकुल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ । “समय सापेक्ष परिवर्तन संगै खेतिमा नयाँ आयाम भित्र्याउन विभिन्न तरिका अपनाउन जरुरी छ ।” स्याङ्बोले भन्नुभयो, “पहिले बाँदर नलाग्दा गरिने खेति र अहिले बाँदरबाट जोगाउन सक्ने खेति परिवर्तन हनुपर्छ । गुणस्तरमा ध्यान दिएर उत्पादन वृद्धि गर्न सके बजारीकरणका लागि पालिकाले पहल गर्नेछ ।”

“यहाँ सुपारी र धान खेति विगत समयमा जसरी हुन छोड्यो ।” गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले भन्नुभयो, “गाउँमा सीँचाई सुविधा उपलव्ध गराउन सके कृषि उत्पादन वृद्धि गरी आम्दानी बडाउन सकिन्छ । स्थानीयलाई जीविकोपार्जन गर्न नै धौ–धौ छ । यो कार्यक्रम सफल भएपछि आफ्नै खेतबारीमा फलाएका फलफूल र तरकारी बेचेर केही रुपैयाँ जोहो गर्न पाउनेछन्।” जलवायुमैत्री कृषिले जलवायु परिवर्तन स्वीकार गर्दै कृषि प्रणालीलाई परिमार्जन गरी समाधानको उपाय अगाडि ल्याउने उपाध्यक्ष भुजेलको बुझाइ छ । पाटापुरमा बाँदर हात्ती र बाघ जस्ता बन्यजन्तुले हानी नोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ । यस्तै यहाँका खेत बारीमा प्रयोग गर्न मीनी पावर टिलर, कुटानी पीसानी मील र च्यापकटर मेशीन वितरण गरिएको छ ।

नेपालमा जलवायु परिवर्तनका कारण किसानहरू मारमा परेको अवस्थामा जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रमले राहत दिएकोमा स्थानीयहरु खुशी छन् । जलवायुमैत्री नमूना गाउँ अहिले देशका विभिन्न प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा सफलताका साथ भइरहेको छ । रोङ गाउँपालिकाले कृषिमा जलवायु अनुकुलनका लागि सुधारिएको गोठ, गड्यौला मल, जैविक विषदी र जैविक मल, थोपा सिंचाई, प्लाष्टिक टनेल, फलफूल खेती तथा नगदेबाली रोपण र सुख्खा सहनसक्ने बालीका बीउ उत्पादन एवं निर्माणको काम गर्ने तयारी गरिरहेको अध्यक्ष स्याङ्बोले बताउनुभएको छ ।रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय