हतारमा विकास हुँदैन, गोर्खेलाई समृद्ध बनाउँछौँः वडाध्यक्ष शेरेङ

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलामः सूर्योदय नगरपालिका–१ ऐतिहासिक गोर्खे बजारको वडा हो । ठुलो भुगोल र कठिन भौगोलिक बनावटका कारण यहाँको समृद्धि हतारमा सम्भव छैन । जिल्लामै पहिलोपटक गाडी गुडेको भनिने गोर्खेले जनप्रतिनिधि पाउनुअघि हिलो, धुलो र पहिरोको लामो समय सामना गर्यो । ०७४ सालको स्थानीय तह निर्वाचनबाट राजकुमार शेरेङको नेतृत्वमा जनप्रतिनिधि चुनिएयता गोर्खेको मुहार फेरिँदै आएको छ । शेरेङ ०७९ सालकोे निर्वाचनमा पनि दोश्रोपटक वडाध्यक्षका रुपमा निर्वाचित हुनुभएको छ । बजार क्षेत्र कालोपत्रे भयो । गाउँ–गाउँ पुग्ने सडक बनिँदै छन् । ऋषिमोड–गोर्खे–मानेभञ्ज्याङ सडक कालोपत्रेको चरणमा पुगेको छ । कृषिजन्य उपजले बजार पाएको छ । अन्य पूर्वाधार विकासमा समेत फड्को मार्दे गएको गोर्खेको विका निर्माणका सम्बन्धमा गरिएको संवादको संपादित अंशः

नमस्कार, के काममा व्यस्त हुनुहुन्छ ?
योजनाका काम धमाधम हुँदैछन् । आफु नगरपालिकाको वन वातावरण तथा विपत ब्यवस्थापन पनि हेर्ने भएकाले वडाको काम थप अनुगमन लगायतमै व्यस्त छु ।

ठुलो वडाको नेतृत्व गरेको दुई कार्याकाल भयो । जनताको अपेक्षा पुरा गर्न सक्नुभयो त?
तपाईले भनेजस्तै ठुलो वडा छ । एकैपटक सबै विकास सम्भव छैन । हतार गरेर सकारात्मक परिवर्तन पाउन सकिँदैन । पहिले बाटोघाटोको अवस्था दयनीय थियो । गम्बुट लगाएर सडक पार गर्नुपथ्र्यो । हामिले नगरपालिकासंग समन्वय गरेर बजार क्षेत्र कालोपत्रे गरिसकेका छौँ । यहाँ हाट बजार लाग्छ । ऋषिमोड–गोर्खे–मानेभञ्ज्याङ सडक अलवेदर सडकका रुपमा विकसित छ । यो सडक कालोपत्रेको चरणमा पुगेको छ । गाउँ गाउँका सडक बनिने क्रममा छन् । जनताका अपेक्षा धेरै हुन्छन् हामीले प्राथमिक आवश्यकताका आधारमा काम गर्नुपर्छ ।

पूर्वाधार विकासमा केके सुधार आए?
हाम्रो यथार्थ के हो भने, यहाँ वडाकार्यालय भवन व्यवस्थित थिएन । स्वास्थ्य चौकी, शैक्षिकथलो लगायतका पूर्वाधार ब्वस्थित थिएनन् । हामीले त्यो सम्पन्न गरेका छौँ । सेवा प्रवाह चुस्त बनाएका छौँ । ठुलो भुगोल भएकाले कर्मचारी बाँडेर दुई ठाउँबाट पनि सेवा दिने गरेका छौँ । खानेपानी, सिंचाईका समस्या धेरै हतसम्म सुधार भएका छन् । जनताले शुसासन अनुभूति गर्न सकुन भनेर हाम्रो प्रयास हो ।

टोल सुधार विकास समितिहरु कस्ता छन्? वडाको काममा उहाँहरुको पहलले टेवा पुर्र्याएको छ ?
हाम्रो वडामा २४ वटा टोलहरु छन् । यसपटक टोल समिति सुुधार गर्दा सबै टोलमा महिला नेतृत्व अनिवार्य गरेका छौँ । महिलाहरु आफैँमा इमान्दार हुन्छन् । काममा उत्साहित र जिम्मेवार भएर लाग्छन् भन्ने उद्धेश्यले नयाँ अभ्यास गरिएको हो । यो अभ्यास वडा नं ९ ले पनि गरेको थियो । यसअघि हाम्रा सबै टोलमा पुरुषकै नेतृत्व थियो । उहाँहरु व्यस्त देखिनुभयो । कोही राजनीति गर्ने, कोही विदेश जाने, कोही शिक्षक भएकाले टोलबासीले भनेजस्तो नेतृत्व नपाएको गुनासो गरे । वडाले टोलका अध्यक्ष सचिवलाई दिईएको सुचना अन्य टोलबासीले नपाएको पाईएपछि हामीले महिलालाई अघि सारेका हौँ ।

वडालाई विभाजन गरेर दुईटा बनाउने तयारी थियो । त्यो कहाँ पुग्यो?
पहिलो कार्याकालमा त्यो अभ्यास गर्न खोजियो । राजनीतिक दल, यहाँका सामाजिक अगुवा लगायतले गरौँ भन्ने कुराभयो । प्रकृया पुरा हुन नपाउँदै कार्याकाल सकियो । दोश्रो कार्याकालमा चैँ त्यसरी प्रस्ताव आएको छैन । प्रकृया सुरु भएको छैन । सरोकारवालाले आवश्यकता अनुभूति गरेर प्रस्ताव लिएर आउनुभएछ भने फेरि एकपटक व्यापक छलफल चलाएर निष्कर्ष लिन्छौँ ।

अन्त्यमा वडाबासीलाई के भन्नुहुन्छ?
मेरो आग्रह के छ भने, वडालाई समृद्ध बनाउन हामी लागेका छौँ । हाम्रो प्रयासमा ऐकबद्धता जनाएर विकासको यात्रामा सहयात्री बनिदिनुस् । हाम्रो साझा बलजोड्ले विकट मानिएको गोर्खे समृद्ध र सम्पन्न बन्नेछ । सहि आलोचना गरौँ । नकरात्मक सन्देश प्र्रवाह नगरौँ । वडालाई सुझाव दिने काम तपाईको । हामी तपाईलाई सुनेर योजना बनाउँछौँ ।
समय दिनुभयो । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय