इलामको नयाँबजारमा बालाचतुर्दशी मेलाको तयारी तिव्र

द्वारा प्रकाशित गरिएको हो |
२०८१ मंसिर ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रोशन काफ्ले, नयाँबजार (इलाम)ः इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रूपमा लाग्दै आएको बालाचतुर्दशी मेला यो वर्ष पनि लाग्ने भएको छ ।

मंसिर ९ देखि १८ सम्म गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समितिको व्यवस्थापनमा लगाइने बालाचतुर्दशी मेला यो वर्ष पनि लाग्ने आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

बालाचतुर्दशीका दिन नयाँबजारको शिवालय धाम, २०११ सालमा नयाँबजार बसाउन महत्त्वपूर्ण योगदान दिने सन्त बालागुरुको प्रतिमा दर्शन, उत्तरेपोखरी दर्शन मेलाका कार्यक्रम छन् । मेलामा स्थानीय शिवालयमा आफ्ना पितृको सम्झनामा सद्बिउ–पलबिउँ छर्ने साथै भाकल पूरा गर्ने दर्शनार्थीको बिहानैदेखि भिड लाग्ने गरेको छ ।

गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले जानकारी दिए ।

गाउँपालिकाभित्र पर्यटकीय सम्भावना बोकेका स्थानको प्रचार गर्न मेला आयोजना गरिएको उपाध्यक्ष प्रविना राईले जानकारी दिइन् । मेला व्यवस्थापन समिति संयोजक मदन भण्डारीका अनुसार मेला अवधिभर रमाइलो मिनी मेला, विभिन्न जातजातिका झाँकी, सांस्कृतिक वेशभूषा प्रदर्शन गरिनेछ । रैथाने खानेकुरा प्रदर्शनमा समेत राखिनेछ ।

गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदय, सूर्यास्त दृश्यावलोकन गर्न सकिने, उत्तरेपोखरी, मलुपोखरी, साततले झरना, शिवालय धाम, साङ्छ्योलिङ बौद्ध गुम्बा, महादेव थान मन्दिर, देवी मन्दिर माइबेनी शिवालय धाम दर्शन गर्न सकिनेछ ।

किरातका प्रथम राजा यलम्बर, नेपालकै अग्लो गणेशको प्रतिमा, विश्वबाट लोपोन्मुख जनावर हाब्रे ९रेड पान्डा० साथै रेडपान्डाको प्रतिमालगायत पर्यटकका लागि आकर्षण रहेको अध्यक्ष थेबेले बताए ।

पहिले बाटोको समस्या हुँदा पनि भरिभराउ लाग्ने मेला अहिले बाटो बनिसकेपछि झनै झकिझकाउ हुने व्यवस्थापन समिति सचिव महेश सापकोटाले बताए ।

माइजोगमाई इलामका चिनारी सात ‘अ’ ९अलैँची, आलु, अम्लिसो, अदुवा, ओलन, अकबरे र अर्थोडक्स चिया० जस्ता कृषिजन्य बाली उत्पादनमा अब्बल रहेको उनको भनाइ छ । यो गाउँपालिकाको तल्लो भेगमा नरिवल फल्ने र माथिल्लो भू–भाग हिउँ पर्ने हावापानीको रहेकाले पनि जैविक विविधतायुक्त छ ।

माई र जोगमाई खोलाबीचमा पर्ने माइजोगमाई गाउँपालिका साविकको प्याङ, जोगमाई, सोयाङ, नयाँबजार र नामसालिङ गाविस समेटेर बनाइएको छ ।

छ वटा वडा रहेको यो पालिकामा शेर्पा, राई, क्षेत्री, बाहुन, मगर, लोपोन्मुख लाप्चा, थामी पहरीजस्ता जातजातिको बसोबास छ । यो क्षेत्रको कुल जनसंख्या १९ हजार एक सय ३१ छ भने एक सय ५६।०१ वर्ग किलोमिटरमा फैलिएको छ ।

२०११ सालमा बालागुरुले बजार बसाएपछि हरेक बालाचतुर्दशीमा यहाँ मेला लाग्नेगरेको छ । कोरोना महामारीका बेलादेखि बन्द भएको मेला गतवर्षदेखि निरन्तर भएको स्थानीय देवी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय