उमेरले ५० कटेकी विष्णु विश्वकर्मा बिहीबार कुवेतबाट काठमाडौं आइपुगिन् । शुक्रबार बिहान उनी आफ्नो जन्मभूमि मोरङको पथरी पुग्नेछिन् । घर पुग्न आतुर छिन् उनी।
करिब डेढ महिना लामो क्याम्पको बसाइपछि कुवेत सरकारले विष्णुलाई विमानमा राखेर काठमाडौं ओरालिदिएको हो । उनीसँगै बिहीबार २९९ महिला काठमाडौं आउन पाएका छन्
भक्तपुर सल्लाघारीस्थित प्रदेश १ को होल्डिङ सेन्टरमा सुस्ताइरहँदा विष्णुलाई कुनै चिन्ता र पीर छैन । हसिँली विष्णुसँग कुवेत-नेपाल यात्राका तीतामीठा कहानी छन् ।
आठ वर्षअघिसम्म उनी पथरीमा दुुःखजिलो गरेर बसेकी थिइन् । उनले जिन्दगीमा कहिल्यै विदेश गएर काम गर्नुपर्ला भनेर सोचेकी थिइनन् ।
उनलाई जिन्दगीले कुबेततिर डोर्यायो ।
बालबच्च्चा नहुर्किँदै श्रीमानलाई दैवले चुँडेर लगे । चारजना छोराछोरीको लालन पालनका लागि उनले विदेशिनुको विकल्प देखिनन् ।
काठमाडौंबाट उड्दा उनलाई लगातार ८ वर्षसम्म छोराछोरीलाई छाडेर विदेशमा बस्न सक्छुजस्तो लागेको पनि थिएन ।
कुवेत पुगेको ४ वर्षसम्म उनले एक कुवेतीको घरमा काम गरिन् । विष्णु त्यहाँ भोग्नु परेको मानसिक यातना सम्झिन चाहान्नन् । त्यतिबेला परेका दुःख पीडालाई आफ्ना सन्तानका लागि आफूले निभाउनुपर्ने दायित्वका रुपमा सहर्ष स्वीकारेको उनी बताउँछिन् ।
तर, चार वर्षपछि उनको धैर्यताको बाँध टुट्यो ।
विष्णुले त्यहाँबाट निस्किएर अर्को घरमा अवैधानिक कामदारका हैसियतमा काम थालिन् । त्यसपछि भने उनले कुनैखालको दुःख भोग्नुपरेन । विष्णुलाई पछिल्लो चार वर्ष आफ्ना रोजगारदाताको व्यवहारले कहिल्यै दिक्क बनाएन ।
तर, बुढ्यौलीले छोएको उमेरमा अनि अवैध भएर कति दिन बिरानो मुलुकमा बसिरहने ? यसमा उनलाई दिक्क लाग्न थालिसकेको थियो ।
कुवेत सरकारलाई धन्यवाद
त्यसैले उनले कोरोना महामारीका बेला कुवेत सरकारले दिएको आममाफीको मौकालाई रोजिन् । र, गत अपि्रलको अन्तिममा त्यहाँ तोकिएको आश्रयस्थलमा आइन् ।
करिब डेढ महिना कुवेत सरकारले बनाएको आश्रयस्थलमा बस्दा उनलाई कुवेत सरकारको राम्रो व्यवहारले नतमस्तक बनाएको रहेछ । कुवेत सरकारले नै व्यवस्था गरेर प्लेनबाट निशुल्क स्वदेश फर्किएकी उनले पटक-पटक ‘कुवेत सरकारलाई धन्यवाद’ भनिन् ।
यति धेरै नेपालीलाई आफ्नै पाहुनाजस्तो गरेर राखेको भन्दै उनले क्याम्पमा बस्दा कुनैखालको दुःख झेल्नु नपरेको दोहोर्याइन् । ‘त्यहाँ हामीलाई निकै राम्रो बन्दोबस्त थियो । खानपिन, सरसफाई, बस्ने, खाने केहीमा समस्या थिएन । एउटै डर थियो, कुवेतले त माफी दियो, आफ्नै सरकारले कति दिन अल्झाइरहने हो,’ विष्णुले अनलाइनखबरसँग भनिन्, ‘आज बल्ल फर्किन पाइयो ।’
‘अरु देशका मान्छे फाटाफटी स्वदेश गइरहेका थिए, तर हाम्रो सरकारले प्लेन नेपाल जानै दिएको छैन भनेपछि दुःख लागेको थियो,’ विष्णुले सम्भिmइन्, ‘ढिलै भए पनि सरकारले निर्णय गरेर आउन दियो, खुुसी छौं ।’
अब विष्णु कुवेत नफर्किने गरी आएकी छिन् ।
अहिले उनका छोरा साउदी पुगेका छन् । छोरीहरुले घरव्यवहार धानेका छन् । ‘अब दुःख-सुख यतै गर्छु, विदेश बस्न पुग्यो,’ उनी भन्छिन्,’अलिकति खनी खोस्री गर्ने माटो जोडेका छौं, त्यसमै कोदालो खन्छु ।’
विष्णु विश्वकर्मासँगै विहीबार कुवेतबाट नेपाल फर्किएका सबै महिलाका आफ्ना-आफ्ना कहानी छन् । म्यानपारवालाले ठगेको, एजेन्टले तलब खाइदिएको, मालिकले पारिश्रमिक नदिएको, दुब्र्यहार सहनुपरेको, घरपरिवार र समाजले गलत दृष्टिकोणले हेरेको लगायतका दुखेसोका चाङ छन् उनीहरुसँग ।
यस्तो दुःख पाएका बेला कुवेतले आममाफी दिएको समयमा सरकारले लामो समयसम्म बेवास्ता गरेकोमा पनि धेरैको चित्त दुखेको छ ।
मालिकले नै बेचिदियो
ताप्लेजुङकी सरिता (परिवर्तित नाम) पोहोर मात्रै कुवेत पुगेकी थिइन् । त्यहाँ उनलाई एउटा अफिसमा काम गर्न भनेर लगिएको थियो । तर, उनले तलब पाइनन् । खान पनि नपुग्ने भएपछि उनलाई पनि त्यहाँबाट विद्रोह गर्न कर लाग्यो । ‘काम राम्रो भएन भनेपछि मालिकले अर्को ठाउँमा बेचिदियो,’ उनी भन्छिन्, ‘अहिले त काम राम्रै थियो, तर इल्लिगल भएर बस्ने रहर कसको हुन्छ र ? त्यही भएर फर्किएँ ।’
अझै पनि उनकोे विदेशै फर्किने योजना छ । ‘फेरि अहिलेकै मालिककोमा जाने हो ?’ भन्ने अनलाइनखबरको प्रश्नमा उनले भनिन्, ‘एजेन्टसँग कुरा भएको छ, मिलाइदियो भने जाने हो ।’
‘नेपालमा कसरी बाँच्नु ?’
झापाकी गीता धिमाल अढाई वर्षपछि कुवेतबाट स्वदेश फर्किएकी छिन् । सुरुमा स्कुलमा काम गर्न पुगेकी उनलाई तलब नपाएपछि नयाँ ठाउँमा काम गर्न जाने बाध्यता पर्यो ।
धेरै महिनासम्म तलब हात नपरेपछि उनले राजेगारदाता परिवर्तन गर्ने निर्णय गरिन् । उनले नयाँ ठाउँमा राम्रो तलब र राम्रो व्यवहार पाइन् ।
तर, तनाव भने बाँकी थियो । कुवेतमा रोजगारदाता फेरेपछि नेपाल फर्किँदा जरिवानासहित डिटेन्सन क्याम्पमा बस्नुपथ्र्यो । त्यसैले त्यहाँको सरकारले दिएको आम माफीको सुविधा लिनु ठीक लागेपछि उनले पनि स्वदेश र्फकने निर्णय लिइन् ।
कुवेतले यो प्रक्रियाबाट आउनेलाई नेपाल जानेलाई फेरि भिसा दिने भनेकाले उनी अब कानूनीरुपमै फेरि सोही रोजगारदाताकोमा फकिर्ने गरी नेपाल आएको बताउँछिन् ।
‘खुलेपछि फेरि जानुपर्छ,’ उनी भन्छिन्,’यहाँ बसेर गरेको कमाइले घरव्यहार कसरी चलाउनु ?’
उनी घरव्यवहारको जिम्मेवारी आफ्नै काँधका रहेकाले फेरि कुवेतमै फर्किएर वैध हैसियतमा रोजगारी गर्ने योजनामा छिन् ।
भाग्यलाई दोष दिउँला
उमेरले ४० कटेकी सोलुखुम्बुकी पेमाकुमारी बिक पनि कुवेतबाट विहीबार नेपाल फर्किएकी छिन् ।
पाँच वर्षपछि नेपाल र्फकन पाउँदा उनको खुसीको सीमा छैन । तर, पनि उनलाई देशभित्रै आफ्नो दुःख पार लगाउने गरी श्रम गर्न पाइएला भन्ने विश्वास छैन ।
‘विदेश जाने रहर कसको हुन्छ र, चुलो नबलेपछि त सोच्नुपर्दोरहेछ,’ उनी भन्छिन्, ‘फेरि जानुपर्यो भने पनि सरकारलाई किन, आफ्नै भाग्यलाई दोष दिउँला ।’
थप २६ सय आउँदै
कुवेतमा आममाफी पाएर आश्रयस्थलमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन सुरु गरेपछि अब भारतबाहेकका तेस्रो देशबाट नागरिकहरु आउने क्रम बढ्ने देखिएको छ । कुवेतले मात्रै केही दिनभित्र थप २६ सय नेपालीलाई आफ्नै खर्चमा काठमाडौंमा ओरालिदिनेछ ।
उनीहरू आममाफीको प्रक्रियामा सामेल भएकाहरु हुनेछन् । वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाले समस्या भएको थियो । तर, अब उनीहरुलाई स्वदेश र्फकने बाटो खुलेको छ ।
कुवेतमा अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी नेपालीहरू घर फर्किन ‘लगेज’ बोकेरै विभिन्न आश्रयस्थल (क्वारेन्टिन) मा पुगेर बसेका छन् । बिहीबारमात्रै जजिरा एयरलाइन्सको पहिलो उडानबाट १५० र दोस्रो उडानबाट उडानबाट १४९ महिला कामदार नेपाल उत्रिएका छन् ।
फर्किएकाहरुलाई विमानस्थलबाट प्रदेशअनुसार काठमाडौंमा तोकिएका होल्डिङ सेन्टर लगिएको थियो । उनीहरुलाई विहीबार साँझ जिल्लाहरुमा पठाइँदैछ । उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राख्ने प्रवन्ध गरिएको छ ।
श्रोत/ तस्वीरः विकास श्रेष्ठ/शंकर गिरी अनलाइन खबर