राष्ट्रिय विभूति नारायण गोपालको स्मृति

द्वारा प्रकाशित गरिएको हो |
२०८० मंसिर १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको निधन भएको ३३ वर्ष पूरा भएको छ ।

तीन दशकभन्दा बढी समयसम्म पनि रेडियो, टेलिभिजन, एफएमजस्ता सञ्चार क्षेत्रमा उनले गाएका कालजयी गीतहरू गुञ्जिरहेका छन् । यति लामो कालखण्डमा पनि सबै वयका स्रोताले स्वर र संगीत मन पराउनु सामान्य विषय होइन । गीतसंगीतका मर्मज्ञहरू यसै भन्ने गर्छन् ।

उनले गायन सुरु गर्दाको समय र वर्तमान कालखण्डलाई तुलना गर्न मिल्दैन । तथापि उनको गायन कलाको माधुर्य, शब्दशब्द केलाएर गाउने तरिका, बहुअर्थ लाग्ने शब्द चयनको महत्व र गायन शैलीलाई गम्भीर भएर श्रवण गर्ने हो भने आउने ५० वर्षसम्मका संगीत अनुरागीहरूले उनको संगीतको गोरेटो पछ्याइ नै रहनेछन् । यस्तो विलक्षण प्रतिभा नेपाली भूमिमा जन्मनु आफैँमा गौरवको विषय हो ।

स्वरसम्राटलाई नेपाली धर्तीले जुनबेला जन्म दिइन्, त्यसबेला प्रजातन्त्रको बिहानी झुल्कँदै थियो । राणाशासनको अन्त्य हुनै लाग्दा प्रजातन्त्रसँगै नेपाली गीत–संगीतले पनि आफ्नो बाटो खोजिरहेका बेला स्वरसम्राटलाई पिता, माताले जन्म दिनु आफैँमा वरदान सिद्ध भएको मान्न सकिन्छ ।

काठमाडौँको मुटु किलागलमा पिता आशागोपाल गुरुवाचार्य, आमा रामदेवी गुरुवाचार्यका कोखबाट १९९६ असोज १८ गते बुधबारका दिन उनको जन्म भयो । सानैमा गीतसंगीतमा रुचि भएका उनी टोल, छिमेक र खुल्लामञ्चका ससाना गीति कार्यक्रमहरूमा सहभागी हुने गर्दथे । २०१२ सालदेखि त उनी रंगमञ्चमा सफल कलाकारका रूपमा देखापरे ।

नेपाली गीतसंगीत र भाषाको श्रीवृद्धि गर्न पनि नारायणगोपालले २२ वर्षको उमेरमै २०१८ सालमा पहिलोपटक कलकत्तामा गएर गीत रेकर्ड गरे । यसैगरी, २०२० देखि २०२२ सालसम्म भारतको एमएस विश्वविद्यालय बरोडामा शास्त्रीय संगीत अध्ययन गरे ।

२०२३, २०२४ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलनमा क्रमशः सर्वोत्कृष्ट संगीतकार तथा सर्वोत्कृष्ट गायक घोषित भएका थिए । यसैगरी, तत्कालीन युवराजाधिराज वीरेन्द्रवीरविक्रम शाहको विवाह समारोहमा २०२६ फागुनमा नारायणहिटी दरबारमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आफैँले गीत प्रस्तुत गरेर नाम कमाए ।

२०३६ सालदेखि २०४० सम्म नारायणगोपालले सांस्कृतिक संस्थानमा महाप्रबन्धकका रूपमा काम गरे । प्रशासनमा भन्दा गायन र संगीतमा नै जीवन व्यतीत गरेका उनले केही विशिष्ट पुरस्कार र मानपदवीसमेत प्राप्त गरे ।

जसमा, २०३९ सालमा रत्न रेकर्डिङ पुरस्कार, २०४० मा इन्द्रराज्यलक्ष्मी पुरस्कार,२०४४ मा छिन्नलता गीतसंगीत पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार प्राप्त गरेका थिए । यसैगरी २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४७ सालमा त्रिशक्तिपट्ट तेस्राबाट विभूषित भएका थिए ।

सांगीतिक पत्रिका ‘बागिना’ को सम्पादक तथा प्रकाशक उनी नेपाली संगीतको श्रीवृद्धि र विकासका लागि त्यसबेलाका गायक, गायिकालाई साथमा लिएर सोभियत संघ, दक्षिण कोरिया, उत्तर कोरिया, चीन, भारत, बर्मा, मलेसियालगायतका मुलुकमा सांगीतिक भ्रमणमा गएका थिए ।

चेस खेल्ने, चंगा उडाउने, टेबल टेनिस खेल्ने सौख भएका नारायणगोपालको धेरैजसो समय हार्मोनियम बजाउनमै व्यतीत हुन्थ्यो । नयाँनयाँ धुन सिर्जना गरी गीतको भावअनुसार बाजाहरू बजाउनु उनको विशेष सौख थियो भन्छन् संगीतका अनुसन्धाता प्रकाश सायमी ।

हुन पनि एउटा गीत रेकर्ड गर्न चित्त नबुझेको खण्डमा महिना दिनसम्म लाग्थ्यो । गीत र स्वरको निखारपनबाट मात्र नयाँ सिर्जना उनीबाट प्रकाशित हुन्थ्यो भनी टिप्पणी गर्छन् संगीतकार भूपेन्द्र रायमाझी र टीका भण्डारी ।

नेपाली माटोको वास्ना छरी सुमधुर आवाज दिन सक्ने गायनका विलक्षण प्रतिभा नारायणगोपालले नेपालको प्राकृतिक सौन्दर्यको वर्णन आफ्नो स्वरमार्फत गरेका देखिन्छ । यसैगरी हरेक वर्गका मानिसको जिन्दगीसँग मेल खाने किसिमका गीतहरू गाएर लाखौँ स्रोताजनलाई संगीत र गायनका खुराक दिलाए ।

नारायणगोपालले गाएका गीत सुनेर नदीको बगरमा गिट्टी कुटेर जीविकोपार्जन गर्ने साधारण मजदुरले आफ्नो जीन्दगीका गीत सम्झन्छन् । पसिना निकाल्दै भारी भोक्ने भरियाले ती गीत आफ्नो सम्झन्छन् भने प्रेम सम्बन्धमा बाँधिएकाहरू सगौरव नारायण गोपालको स्वर ईश्वरको वरदान सम्झन्छन् ।

वरिष्ठ गीतकारहरूलाई हृदयदेखि सम्मान व्यक्त गर्दछन् । स्वरसम्राटप्रतिको लाखौँ स्रोताहरूको सम्मान तराजुमा जोख्न, हृदयको मिटरमा नाप्न सकिँदैन । अनन्त गहिराइसम्म जोडिएको छ उनको स्रोताप्रतिको अमिट माया ।

उनी निडर, निर्भीक र स्वाभिमानी गायक हुन् । उनमा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति श्रद्धा उच्च थियो भन्ने कुरा उनले गाएका गीत र उनको व्यवहारबाट प्रष्टिन्छ । रेडियो नेपाल त्यसबेला कलाकारका लागि गीत रेकर्ड गर्ने एक मात्र संस्था थियो । जुन संस्था प्रत्यक्ष र परोक्ष रूपमा तत्कालीन राजदरबारको नियन्त्रणमा थियो । सोहीअनुसार हरेक गीत रेडियो नेपालको सेन्सर बोर्डले हेर्ने गर्दथ्यो, त्यसबाट पास भएपछि मात्र रेडियोमा मुस्किलले गीत रेकर्ड गर्न पाइन्थ्यो ।

आधुनिक गीतमा मात्र होइन, देउडा लोक गीतमा पनि रेडियो नेपालको सेन्सरसिप लागु भएको थियो । कैयौँ पटक देउडा गीतमा बहुअर्थ लाग्ने शब्दहरू यो पंक्तिकारले हटाउनुपरेको थियो ।

वास्तवमा पञ्चायतकालखण्डमा अनुशासन भने कडा थियो । आफ्नो गीत रेकर्ड गर्नुपर्ने दिनमा निक्कै होसियारी अपनाएर, अनुशासित भएर गीत प्रत्यक्षरूपमा रेकर्ड गर्नुपर्दथ्यो ।

संगीतकार, वाद्यवादक र गायकगायिकाहरूले होस पु¥याउनुपर्दथ्यो अनि गीतहरू कालजयी बन्ने गर्दथे । स्वर सम्राटले रेडियो नेपालमा गीत रेकर्ड गर्दा स्रोता र दर्शकहरू स्टुडियोमा जम्मा हुने गर्दथे ।

नारायणगोपालले धेरै गीतकारका गीतहरूमा आफ्नो जादुमय स्वर दिएका छन् । आफ्नो बाहेक अरू विशिष्ठ संगीत साधकहरूको संगीत पनि दिएर नेपाली गीतसंगीत क्षेत्रलाई ठूलो गुन लगाएका छन् । उनले सबैभन्दा बढी गीतसंगीतमा गाएका साधक हुन गोपाल योञ्जन ।

नारायणगोपालझैँ गोपाल योञ्जन पनि विशिष्ट साधक भएका कारण यसो भएको हुन सक्छ । २३ वटा गीत र संगीतमा स्वर सम्राटले आवाज दिएका छन् । नातिकाजीसहित गोपाल योञ्जनको संगीतमा थप तीनवटा गीत पनि छन् ।

‘लौ सुन म भन्छु, मेरो रामकहानी’देखि ‘तिम्रो जस्तो मुटु मेरो पनि’ जस्ता सर्वप्रिय गीतका रचनाकार र संगीतकार गोपाल योञ्जन नै हुन । ‘ए १ कान्छा ठट्टैमा, स्वर्गकी रानी, बिछोडको पीडा, जाग, लम्क, चम्क’ आदि जनजिब्रोमा झुन्डिने गीतका सर्जक रत्नशमशेर थापाका १४ वटा गीतमा उनले स्वर दिएर सांगीतिक धर्तीका कहिल्यै नअस्ताउने जुन बने ।

स्वरसम्राट नारायणगोपालको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल संगीत कोषले २०४८ सालदेखि उनको सम्झनामा विविध सांगीतिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । साथै मुर्धन्य कलाकारहरूलाई पुरस्कार पनि प्रदान गर्दै आइरहेको छ ।

अब सरकारले सांगीतिक क्षेत्रबाट संगीतका उज्याला नक्षत्र नारायणगोपाललाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्दछ । उनको सन्तान भनेकै संगीतमा लागिपरेका सन्ततिहरू हुन । उनकी अर्धाङ्गिनी पेमला गुरुवाचार्य पनि परलोक भएको धेरै वर्ष भयो । महाराजगन्जबीच सडकमा स्वर सम्राटको अर्धकदको सालिक स्थापना गरिएको छ ।

सबै जात र गोत्रका नरनारीले सालिकलाई ओहोरदोहोर गर्दा शिर झुकाउने गरेका देखिन्छ । जुन कार्य आफैँमा स्तुत्य छ । काठमाडौँ महानगरपालिका र वडा कार्यालयले मात्र नभएर सरकारले पनि गीत र संगीतका पारखीहरूलाई न्यानो माया दिइरहोस् । यसो गरेमात्र स्वरसम्राटप्रति सच्चा श्रद्धाञ्जली ठहरिनेछ । ९नागरिकन्युजबाट०

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय