ओली चाहिन्छ, तर रावललाई पनि अवसर दिनुपर्छ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

चितवनःनेकपा एमालेको दशौँ महाधिवेशन शुक्रबारबाट चितवनमा जारी छ। पार्टीको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ।

अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः सर्वसम्मत रूपमा अध्यक्ष बनाउने विषयमा अधिकांश नेता एकमत छन्। तर, उपाध्यक्ष भीम रावलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेकाले ओलीलाई सर्वसम्मत बन्नमा धक्का लागेको छ।

एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटी सदस्य खड्ग ताम्लिङ महाधिवेशनमा आएका १० प्रतिशतलाई मात्रै पनि जसले चिन्छ उसैले नेतृत्व पाउनुपर्ने बताए।

उनले भने, ‘अहिले सर्वसम्मत नेतृत्व चयन गर्ने कुरा भइरहेको छ। तर, केन्द्रीय सदस्यमा जसले १० प्रतिशतलाई मात्रै चिन्छ उसैले पनि नेतृत्व पाउनुपर्छ भन्ने हो।’

ओलीको गृहजिल्ला झापाबाट आएका उनले सर्वसम्मत हुने अवस्था नभएकोले प्रतिनिधिले एमाले मिलाएर लैजान सक्ने नेतृत्व छान्न सक्नुपर्ने बताए। तर, उनी महाधिवेशन प्रतिनिधि भने छैनन्।

यस्तै, प्रदेश(२ बाट महाधिवेशन प्रतिनिधि आएकी सरस्वती चौधरी काम गर्नेले जित्नुपर्ने बताउँछिन्।

उनले भन्छिन्, ‘काम गर्ने र युवा, महिला सबैलाई समेट्नेलाई हाम्रो समर्थन रहन्छ। ओली अनुभवी र पुरानो काम पूरा गर्न दोहोरिनुपर्छ भन्ने हो। तर, भीम रावललाई पनि अवसर चाहिँ दिनुपर्छ।’

त्यसो त गण्डकी प्रदेशबाट आएकाहरू प्रतिनिधिहरूले उद्घाटन सत्र निकै भड्किलो भएको सुनाए। एमालेले आफ्नो उत्सव मनाउँदा सर्वसाधारणलाई दुःख दिएको गुनासो गरे।

मोरङ महाधिवेशन प्रतिनिधि धर्मलाल सिंहले भोट मागेर हैरान भइसकेको गुनासो गरे।

उनले भने, ‘भोट मागेर हैरान भइसके। मोबाइल ह्याङ भइसक्यो। आवश्यकताभन्दा बढी भयो । ओली राष्ट्रको लागि चाहिएको छ। राष्ट्रपछि मात्रै व्यक्ति हेर्नुपर्छ।’

पार्टी पदाधिकारीमा आकांक्षी धेरै भएपछि शुक्रबारको केन्द्रीय कमिटीको बैठकले संख्या वृद्धि गरेको छ। पार्टीमा सर्वसम्मतको प्रयास भइरहेको बेलामा पदाधिकारीमा आकांक्षी धेरै भएपछि शीर्ष नेताहरू अहिले आन्तरिक छलफलमा बसिरहेका छन्।

बन्द सत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। शुक्रबार राति बसेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो।

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ।

यसअघि ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पास गरेअनुसार २२५ सदस्यीय केन्द्रीय कमिटी अब ३०१ सदस्यीय बन्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार एमाले केन्द्रीय कमिटीमा अब अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी १९ जना पदाधिकारी हुनेछन्।

यसअघि हटाइएको पोलिटब्युरो पनि ब्युँताउने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ। केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गर्नेछ। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय