किसानको क्षतिमा स्थानीय सरकारको मलमपट्टी

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलामः गत बर्ष फागुन–१४ गते बिहान सूर्योदय नगरपालिका–१ मकरजुङका उदय खड्काले दुहुनो गाई पुर्नुपर्यो । लम्पी स्किन रोगको महामारीले १० लिटर दूध दिईरहेको गाई मर्यो । चार महिना अघि पचास हजारमा किनेको गाई एक हप्ता थलिएर ठहरै हुँदा खड्कालाई धेरै दिन निद्रा लागेन । उहाँको मात्र होइन सूर्योदय नगरपालिकामा लम्पी स्किन रोगले सात सय ४४ गाईवस्तुको क्षति भयो । किसान भन्छन्, ‘आजसम्म गाई किनेको ऋण चुक्ता हुन सकेको छैन,दूध बेचेर घरखर्च चलेको थियो, गाईसंगै नुनतेत खाने उपाय पनि मर्यो ।’

तर,सूर्याेदय नगरपालिकाले पीडित किसानलाई क्षतिपूर्ति बापत राहात रकम दिने खबरले किसान उत्साहित भएका छन् । पशुचौपायाको क्षतिपूर्ति रकम पाउने थाहा पाएपछि पीडित किसान सिताराम गौतम भन्नुहुन्छ,‘नजिकको सरकार भनेको यही रहेछ,अब पैसा आएपछि ऋण बुझाउँछु ।’ क्षतिपूर्ति पाउने खबरले आफुलाई घाउमा मलमपट्टी लगाएजस्तो अनुभूति भएको उहाँले सुनाउनुभयो ।

नगरको आठौं कार्यपालिका बैठकले किसानलाई राहतका रूपमा यो रकम प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभएो छ । ‘गतवर्ष लम्पी स्किन रोगले पशुधन नष्ट हुँदा किसानलाई ठूलो नोक्सान भएको छ,’ उहाँले भन्नुभयोे, ‘किसानलाई त्यो आर्थिक पीडाबाट उकास्न नगरले प्रयास गरेको हो ।’

नगरपालिकाकाले दूध दिइरहेको गाई मरेको भए २० हजार, कोरलीलाई १० हजार र गोरु मरेको भए १० हजार रुपैयाँ दिनेगरी कार्यविधि पारित गरेको छ । उहाँका अनुसार नगरले लम्पी स्किन नियन्त्रण गर्न खोप अभियान पनि सघन रूपमा सञ्चालन गर्नेछ । ‘खोप अभियानका लागि नगरअन्तर्गतका र निजी पशु प्राविधिक परिचालन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘किसानलाई स्वस्थ रूपमा पशुपालन गर्नेबारे तालिमसमेत गराइनेछ ।’

लम्पी स्किनबाट पशुधन क्षति भएका लाभग्राही सिफारिस गर्न आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । समितिले लम्पी स्किनबाट पशुधन क्षति भएका वास्तविक किसानको पहिचान गरेर राहतका लागि सिफारिस गर्ने छ । नगरले लम्पी स्किनबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न एक करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरेको नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिनुभएको छ ।

नगरपालिकाले पशु र बाली बिमामा पनि किसानलाई प्रोत्साहन गर्ने भएको छ । नगरले पशु र बाली बिमामा किसानले बेहोर्ने शुल्कको आधा रकम सहयोग गर्न भएको प्रवक्ता भुजेलले बताउनुभयो । बिमा प्रोत्साहनका लागि १० लाख रूपैयाँ विनियोजित छ । पशु र बाली बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।

पशुमा लाग्ने रोगको आधारभूत प्रयोगशाला स्थापना, खोरेतमुक्त नगरका लागि खोप अभियान, उन्नत घाँसको बीउ, काउम्याट वितरण र भकारो सुधारका कार्यक्रमसमेत चालु वर्षको बजेटमा राखिएको उहाँले बताउनुभयो । ‘गाईको नश्ल सुधार, पशुबिमा, निजी पशुसेवा प्राविधिक तथा खोपकेन्द्रलाई टुल बक्स र ५० प्रतिशत साझेदारीमा रेफ्रिजिरेटर हस्तान्तरणको कार्यक्रम पनि चालु वर्षका लागि छ,’ नगरप्रमुख राईले भन्नुभयो, ‘किसानलाई नै प्राथमिकता दिएर कृषिमा अरू कार्यक्रम पनि ल्याइएका छन् ।’

नगरले बाली बिमा अभियान, कृषिमा नवप्रविधि थ्रिजी प्रणाली कार्यान्वयन, पकेट क्षेत्र विस्तार र आत्मनिर्भरताका लागि क्षेत्र विस्तारमा अनुदान, माटो परीक्षण र कृषि चुनढुंगा वितरण, कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकरण, कृषि एम्बुलेन्स, सिँचाइलगायत कार्यक्रम चालु वर्षका लागि राखेको छ ।

किसानका लागी थुप्रै कार्यक्रम अघि सारेको सूर्योदय नगरपालिकाले जनतालाई नजिकको सरकार भएको अनुभुती दिएको छ । कृषक भुपाल पोखरेल भन्नुहुन्छ, ‘अन्यत्र जनप्रतिनिधिले कही गरेनन् भनेको मात्र सुनिन्छ, सूर्योदय त साँच्चै जनताको सरकार भएको छ । ‘सिंह दरवारको अधिकार गाउँ–गाउँमा भन्ने नाराले सार्थकता पाएको भन्दै यहाँका किसान दङ्ग छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय