मनोज अधिकारी
इलामः दुधको उत्पादन वृद्धि गर्ने उद्धेश्यले गाईहरुमा कृतिम गर्भाधानको रुपमा शुरु गरिएको सेक्स सिमेनको प्रयोग प्रभावकारी भएको छ । दुई हजारको हाराहारीमा सेक्स सिमेन खरिद गरिएकोमा हालसम्म सातसय भन्दा धेरै प्रयोग भएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिनुभएको छ । ‘यसको प्रयोगबाट दुई सय ८५ वटा बाच्छा बाच्छी जन्मिएका छन्, ती मध्ये ९५ प्रतिशत बाच्छी मात्र उत्पादन भएका छन् ।’ राईले भन्नुभयो ।
सूर्योदय नगरपालिका–१ मकरजुङका गोबिन्दप्रसाद सापकोटाको एक लाख ८० हजार मुल्य पर्ने गाईले दिनमा १८ लिटर दुध दिएको छ । आउँदो सालबाट दुध उत्पादन वृद्धि हुने उहाँको अनुमान छ । ‘नगरपालिकाले दिएको सेक्स सिमेन बाट बाच्छी जन्मियो, जन्मिएको चार महिना हुँदैछ, गाई जत्रो हुन लाग्यो, ब्याएपछि यो एउटैले तीस लिटर दुध दिन्छ रे ।’ सापकोटाले भन्नुभयो ।
नगरपालिकाले प्रतिदिन दुई लाख लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ । दुध उत्पादन बडाएर पालिकाभित्रै पाउडर प्लान्ड सञ्चालन गर्ने उद्धेश्यका साथ नगरपालिकाले किसानको ५० प्रतिशत लगानीमा सेक्स सिमेन वितरण गरिरहेको हो । एउटा बराबर तीन हजार नौ सय पर्ने उक्त सेक्स सिमेन प्रयोग गर्दा त्यसको पचास प्रतिशत लागत किसानले ब्यहोर्नु पर्ने हुन्छ । ‘सेक्स सिमेन आफुखुसी खरिद गर्न पाईँदैन ।’ प्रमुख राईले भन्नुभयो, ‘नेपाल सरकारको मापदण्डभित्र रहेर खरिद गर्नुपर्छ, हामीले अमेरिका र क्यानेडाबाट लिएका हौँ ।’
सूर्योदय–७ का गाईपालक किसान बालु भट्टराई भन्नुहुन्छ,‘नगरपालिकाले दिएको सुईबाट बाच्छी जन्मियो,गाईपालनमा सरकारले प्रोत्साहन गरिरहेको छ ।’ नगरपालिकाले दुध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न गाई नै वितरण गरेको थियो । तर,नेपालका परम्परागत गाई पालन गरेर प्रतिदिन दुई लाख दुध उत्पादन गर्ने पालिकाको लक्ष्य पुरा नहुने भएपछि दुध उत्पादन वृद्धि गर्न उन्नत गाईको बिर्य वितरण गर्ने अभियान शुरु भएको नगरप्रमुख राईले बताउनुभयो । ‘पहिले गाई बाँडिरहेका थियौँ तर, ती गाईले दुईलाख लिटर दुध दिनको पुर्याउन नसक्ने थाहा भएपछि धेरै दुध उत्पादन गर्न सेक्स सिमेन वितरणको शूरुवात गरेका हौँ ।’ उहाँले भन्नुभयो ।
राज्यको अनुदान खर्च भएका कारण सेक्स सिमेनको प्रयोगबाट जन्मिएका बाछी पाँच बर्षसम्म बिक्री गर्न किसानलाई प्रतिबन्ध छ । अन्यत्र बिक्री भएमा दुध उत्पादनको लक्ष्य पुरा नहुने भएकाले किसानले ती गाई अनिवार्य पाल्नुपर्ने नीति बनाईएको राईको भनाई छ ।
यतिबेला दुध किसानलाई समस्या छ । उद्योगमा थन्किएका दुग्ध पदार्थ बिक्री भएका छैनन् । सामान बिक्री नभएपछि लामो समयदेखि डिडिसि र नीजि डेरी,उद्योगहरुले किसानलाई दुधको भुक्तानी गर्न सकेका छैनन् । यो समस्या समाधानप्रति सूर्योदयले प्रदेश र संघिय सरकारसंग छलफल चलाएको छ । नगरप्रमुख राईले भन्नुभयो, ‘हाम्रो उत्पादन गुणस्तरीय हुन जरुरी छ । तीन तहका सरकारबिच छलफल चल्दै छ ।’ अन्तराष्ट्रिय बजारमा नेपाली दुधको गुणस्तर प्रश्न उठ्न नहुने राईले बताउनुभयो ।
सूर्योदयले किसानले उत्पादन गरेको दुध युरोपियन कन्ट्रीमा पठाउने तयारी गत बर्ष बाटै गरेको थियो । चाईनामा दुध पठाउन खोरेत मुक्त क्षेत्र घोषणा गर्नुपर्ने भएकाले केही ढिलाई भएको राईले बताउनुुभयो । ‘हामिले खारेत मुक्त क्षेत्र घोषणा गर्ने अभियान शुरु गरिसक्यौँ ,गत बर्ष कुनै पनि खोरेत लागेको गाई भेटिएन ।’ राईले भन्नुभयो, तीन बर्षसम्म अध्ययन गरेपछि सूर्योदय नगरपालिका खोरेतमुक्त क्षेत्र घोषणा हुन्छ, त्यसपछि चैँ हाम्रा दुग्ध उत्पादनहरु युरोपियन देशहरुमा पठाउन सकिन्छ । यसका लागि खोप अभियान चलिरहेको छ,कार्यविधि बनेको छ ।’
खोरेतमुक्त क्षेत्र घोषणाका लागि नगरपालिकाले बनाएको कार्यविधि प्रदेश सरकारले जानकारीको लागि माग गरेको छ । हाल दुधमा देखिएको समस्या समाधान गर्न पालिकाले पाउडर प्लान्ड खोल्ने आँट गरेपनि नगरपालिकामा उत्पादन भईरहेको दुध पर्याप्त छैन । उहाँले भन्नुभयो, ‘यहाँ हरेक दिन करिब ७५ हजार लिटर दुध उत्पादन हुन्छ । तीमध्ये ३५ हजार लिटर चै डकच्यु र मान्छेले खाने छुर्पीहरुमा नै खपत भैरहेको छ । बाँकी डिडिसी लगायत निजी डेरीहरुले लिईरहेको हुँदा हाल पाउडर प्लान्ट बनाउने सम्भावना छैन ।’
सेक्स सिमनेबाट गर्भाधान गराउँदा गाईले ९० प्रतिशत बाच्छी जन्माउने सम्भावना हुने सूर्योदय–९ पान्दामका पशु प्राविधिक भुपाल पोखरेलले बताउनुभ उहाँले भन्नुभयो । ’बाच्छीको संख्या बढेपछि किसानलाई उत्पादन बढाउन फाइदा हुन्छ ।’
अर्का प्राविधिक सन्जय पौडेलका अनुसार, नश्ल सुधार भएर अमेरिकाको शुद्ध होलस्टेन गोरुको वीर्य प्रयोग हुने हुँदा जन्मने बाच्छीको तौल निकै बढी हुने गरेको हो भने गाईले पनि बढी दूध दिने गरेको हो । उक्त वीर्य प्रयोग गरेका गाईले एक दिनमा २६ लिटरसम्म दूध दिएको सन्जयले बताउनुभयो । अन्य वीर्य प्रयोग गरी ब्याएका गाईले १५ लिटर हाराहारी मात्र दूध दिएको पौडेलको भनाइ छ ।
विराटनगर दुग्ध आयोजनाले इलामको शान्ति डाँडा, पूवाखोला, बिब्ल्याटे, लक्ष्मीपुर, तीनघरे, फिक्कल, कुटी डाँडा, झापाको गरामनी, धनकुटाको हिले र चित्रेमा चिलिङ सेन्टर स्थापना गरेर कृषकको दुग्ध संकलन गर्दै आए पनि दुग्ध सहकारीले आयोजनालाई दुग्ध दिन बन्द गरेपछि पुवाखोला, लक्ष्मीपुर, कुटी डाँडाको चिलिङ सेन्टर बन्द गरेको छ ।
इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ। निजी डेरीमा मात्रै १ हजारभन्दा बढी कृषकले दुग्ध बिक्री गर्दै आएका छन्। इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध संकलन गर्दै आएका छन्। स्थानीय बजार क्षेत्रमा दैनिक ५ हजार लिटर दुग्ध बिक्री हुने गरेको छ । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका छन् । ललिपप, बम्बैसन जस्ता मिठाई बनाउने उद्योगले ३ हजार लिटर र भारतका बजारमा ३ हजार लिटर दुग्ध बिक्री हुने गरेको दुग्ध व्यवसायमा सम्लग्न व्यवसायीहरू वताउँछन् । इलाममा १८ चिज कारखाना, १५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ ।
इलाममा वार्षिक १ लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार ३ सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ ।
गत बर्ष पशुहरुमा महामारीका रुपमा फैलिएका लम्पी स्किन रोगका कारण सूर्योदय नगरपालिकाका सात सय ४४ पशुहरुमा क्षति भएको थियो । ती पीडित किसानका लागी नगरपालिकाले क्षतिपुर्ती उपलब्ध गराउने भएको छ । ‘गतवर्ष लम्पी स्किन रोगले पशुधन नष्ट हुँदा किसानलाई ठूलो नोक्सान भएको छ,’ उहाँले भन्नुभयोे, ‘किसानलाई त्यो आर्थिक पीडाबाट उकास्न नगरले प्रयास गरेको हो ।’
नगरपालिकाकाले दूध दिइरहेको गाई मरेको भए २० हजार, कोरलीलाई १० हजार र गोरु मरेको भए १० हजार रुपैयाँ दिनेगरी कार्यविधि पारित गरेको छ । उहाँका अनुसार नगरले लम्पी स्किन नियन्त्रण गर्न खोप अभियान पनि सघन रूपमा सञ्चालन गर्नेछ । ‘खोप अभियानका लागि नगरअन्तर्गतका र निजी पशु प्राविधिक परिचालन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘किसानलाई स्वस्थ रूपमा पशुपालन गर्नेबारे तालिमसमेत गराइनेछ ।’