सूर्योदयमा थपिएको पर्यटकीय गन्तव्य गुफापाताल

द्वारा प्रकाशित गरिएको हो |
२०८१ श्रावण ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

गुफापाताल (इलाम)– इलामको सूर्योदय नगरपालिका–४, गुफापाताल पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदैछ । भारतीय सीमासँग जोडिएको उच्च भू–भाग भएकाले दिनहुँ धेरै संख्यामा भारतीय पर्यटक यहाँ आउन थालेका छन् ।

वरिपरि मनमोहक, हरियाली डाँडाकाँडा, धुपीसल्लाका आकर्षक कोणधारी रुख, फूल र वनजंगलले गुफापाताललाई आकर्षण थपेका छन् । यहाँबाट इलाम, झापालगायत पहाडदेखि तराईसम्मका जिल्लाका विभिन्न भू–भाग र कञ्चनजंघासमेतका हिमाल–हिमशृंखला देख्न सकिन्छ ।

भारत सिलिगुडीबाट आएका पर्यटन विजय शर्माले गुफापातालको सौन्दर्यमा आफू मख्ख परेको सुनाए । ‘मैले यो ठाउँको नाम त सुनेको थिएँ तर आउन पाएको थिइनँ,’ उनले भने, ‘निकै आकर्षक ठाउँ रहेछ, यो नेपाल र इन्डियाका धेरै ठाउँ देखिँदोरहेछ ।’ चिसो ठाउँ भएकाले गर्मी मौसममा यहाँ बंगालका पर्यटक हुलका हुल आइरहेका छन् ।

बालबालिका, किसोर–किसोरी, प्रेमजोडी, प्रौढ, वृद्धवृद्धा सबै उमेरसमूहका पर्यटकले गुफापाताललाई गन्तव्य बनाइरहेका छन् ।

समुद्री सतहबाट करिब दुई हजार २४ मिटर उचाईमा पर्छ गुफापाताल । हिउँदमा पशुपतिनगर, बौद्धधाम र अन्तुबाट गाडीमा सहजै यहाँ पुुग्न सकिन्छ । बर्खामा यी ठाउँबाट पैदलै र पशुपतिनगरबाट गाडीमा जाँदा करिब सात किलोमिटर भारतीय भूमिको बाटो जानुपर्छ ।

यहाँ दृश्यावलोकनका लागि भ्युटावर बनाइएको छ । सँगै दोकानसहितको पाहुनाघर पनि छ । नजिकै ‘आई लभ नेपाल’ अक्षर लेखिएको स्तम्भ राखिएको छ । यहाँ आइपुग्ने पर्यटक सबैजसो भारतीय नै हुने भएकाले उनीहरूलाई तस्बिर, भिडियो खिच्ने पृष्ठभूमिका रूपमा यो स्तम्भ राखिएको गुफापाताल पर्यटन समितिले जनाएको छ ।

केचना–कञ्चनजंघा पर्यटन विकास समितिले करिब पाँच लाख रुपैयाँ लगानीमो यो स्तम्भ निर्माण गरेको हो । गुफापाताल पर्यटन समिति अध्यक्ष मीरा राईले अहिले यहाँ दिनहुँ धेरै संख्याका पर्यटक आइरहेको बताइन् । बर्खाको मौसममा पनि यहाँ पर्यटक आइरहेको उनको भनाइ छ ।

समितिका पूर्वअध्यक्ष हर्कधन तामाङले यहाँको टावर पुनर्निर्माण गरी थप आकर्षक बनाउनुपर्ने बताए । ‘गेस्ट हाउस, टावर जीर्ण भएका छन्, मर्मत र थप आकर्षक बनाउनुपर्छ,’ उनले भने, ‘खानेपानी, शौचालयको समस्या छ । हामी वर्षौंदेखि यो क्षेत्रको पर्यटन विकासमा लागेका छौं तर अझै केही स्रोत आयो भने यहाँको पूूर्वाधार विकास गर्न सकिनेथियो ।’

यहाँ आउने पर्यटकका लागि चिया, खाजा खानेसम्मको सामान्य व्यवस्था रहेपनि बास बस्ने होमस्टे छैनन् । तर, केही व्यवसायीले होटल र लजसमेत खोलेकाले यहाँ आउने पर्यटकलाई बसोबास गर्न खास समस्या चाहिँ नभएको व्यवसायी बताउँछन् ।

‘धेरै पर्यटक आउँदा चाहिँ उनीहरूलाई बास बसाउन निकै हम्मे पर्छ,’ स्थानीय व्यवसायी रविन राईले भने, ‘म होटल बनाउँदैछ, निर्माणाधीन नै भएपनि पर्यटक आउने, बस्ने गरिरहेका छन्, टाढा–टाढाका पर्यटकले यहाँ आउन पहिल्यै सम्पर्क गरी बुक गरिरहेका छन् ।’

आफ्नो होटलमा आउने पर्यटकले प्रतिव्यक्ति एक हजार दुई सय भारतीय रुपैयाँमा दुुई छाक खाना, खाजा, चिया र एक रात बास बस्नसक्ने उनले सुनाए । ‘अहिले ९असार० सिजन होइन तर पनि दिनहुँ पाँच–सात पर्यटक बास बस्न टुटेको छैन मेरो होटलमा । कतिपयले पछिलाई बुक गरिसकेका छन् ।’

केचना–कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले गुफापाताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको बताए । ‘यहाँको पूर्वाधार विकासमा हामीले पनि केही लगानी गरेका छौं,’ उनले भने, ‘अझै पूर्वाधारका केही काम बाँकी छन् ।’

धौरालीले पर्यटकीय पूर्वाधार विकासमा गरिएको लगानीको प्रतिफल स्थानीय समुदायले प्राप्त गर्नुपर्ने बताए । ‘यहाँ होमस्टे व्यवस्थित बनाउनुपर्छ, पर्यटकलाई धेरै दिन टिकाउने प्रोडक्ट उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘पर्यटकका माध्यमबाट स्थानीय समुदाय आर्थिक रूपमा लाभान्वित भयो, यहाँका बासिन्दाको जीवनस्तर सुधार भयो भनेमात्रै सरकारी लगानीको अर्थ रहन्छ । त्यसमा प्रयत्न गर्नुपर्छ ।’

समितिका सल्लाहकार प्रकाश अधिकारीले गुफापाताल र आसपास क्षेत्रको पर्यटकीय विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए । ‘पर्यटन प्रवद्र्धनका लागि स्थानीय समुदाय जागरुक बन्नुपर्छ,’ उनले भने, ‘प्रकृतिले यो ठाउँलाई ज्यादै आकर्षक बनाएको छ, यो ठाउँकोे प्रचारमा लाग्नसके बर्सेनि हजारौं पर्यटक गुफापाताल आउन सक्छन् ।’

नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव भीम चापागाईंले पर्यटन विकास कसैको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबैको समन्वय आवश्यक रहेको बताए । ‘पर्यटकलाई होटल व्यवसायी, यातायात व्यवसायी, पसले र हरेक स्थानीय सर्वसाधारणसमेतले सम्मानपूर्वक व्यवहार गर्नुपर्छ, ताकि ऊ यहाँको सौन्दर्यमा मात्र होइन, व्यवहारप्रति पनि आकर्षित बनोस्,’ उनले भने, ‘प्रत्येक पर्यटकलाई यहाँको दूत बनाउनसक्ने लक्ष्यसहित अघि बढ्न सबैले हातेमालो गर्नुपर्छ ।’ पर्यटनमा प्रचारको ठूलो महत्व रहेको उनको भनाइ छ ।

समिति सदस्य सुजन तिम्सिनाले पर्यटकलाई अर्गानिक र रैथाने स्वादमा आकर्षित गर्नसक्नुपर्ने बताए । ‘यहाँ आएका पर्यटकले जे खान चाहन्छन्, जहाँ घुम्न चाहन्छन्, हामीले उनीहरूलाई सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘अनि, उनीहरूलाई यहाँकै उत्पादनको बजारीकरणमा जोड्नुपर्छ, स्थानीय उत्पादन चखाएर आम्दानी लिन सक्नुपर्छ ।’ from palika page

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय