इलामका दुई सामुदायिक वनलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा

द्वारा प्रकाशित गरिएको हो |
२०८१ श्रावण २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम– इलामका दुई सामुदायिक वनलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिका–३, पाटेनागीका पुवामाई र कालपोखरी थामडाँडा सामुदायिक वनलाई लोपोन्मुख रेडपान्डाको संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

यो क्षेत्र इलाम नगरको एक मुख्य पर्यटकीयस्थल पनि हो । नगरकै अग्लो भू–भाग ९तीन हजार ४२ मिटर उचाई०का रूपमा रहेको पाटेनागी लेकाली भेगमा पर्ने भएकाले यहाँबाट मनमोहक दृश्य हेर्न पर्यटकको बाक्लो उपस्थिति हुनेगरेको छ । यही क्षेत्रका दुई वनलाई नगरको अगुवाईमा संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

संरक्षित क्षेत्र रहेका यी दुई सामुदायिक वनको क्षेत्रफल एक सय १६ दशमलव २१ हेक्टर छ । ‘अब यहाँ लोपोन्मुख रेडपान्डा संरक्षण गर्न सहयोग पुग्नेछ,’ मेयर केदार थापाले भने, ‘स्थानीय संरक्षण समितिसमेत गठन भएकाले थप काम समितिमार्फत् हुनेछ ।’

इलाम नगरपालिकाको वन ऐन–२०७८ र पुवामझुवा सामुदायिक रेडपान्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि २०८० अनुसार यो क्षेत्रलाई रेडपान्डाको संरक्षण क्षेत्र घोषणा गरिएको मेयर थापाले बताए । ‘वन र लोपोन्मुख वन्यजन्तु संरक्षण गर्दै पर्यटनमा समेत सहयोग गर्न यो घोषणाले सहयोग गर्नेछ,’ मेयर थापाले भने, ‘मनमोहक पाटेनागी क्षेत्रमा अब नगरको नयाँ पर्यटन गन्तव्य थपिएको छ ।’

जिल्लाको उत्तरी क्षेत्रका वनमा लोपोन्मुख रेडपान्डा देखिनेगरेको छ । सन्दकपुर गाउँपालिकाका माइमझुवा, चोयाटार, माइजोगमाई गाउँपालिकाको थुम्केरानी, सूर्योदय नगरपालिकाको थुम्केलगायत क्षेत्रमा रेडपान्डा पाइन्छन् । सीमावर्ती भारतको सिंहलीला नेसनल पार्क पनि यही क्षेत्रसँग जोडिएकाले रेडपान्डा संरक्षण गर्नु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

दक्षिण एसियामा म्यानमार, नेपाल, चीन, भारत र भुटानमा मात्र लोपोन्मुख रेडपान्डा पाइनेगरेको छ । रेडपान्डा नेटवर्कका हरिशचन्द्र राईले दुर्लभ रेडपान्डा संरक्षणमा नागरिकस्तरबाटै काम गर्नु आवश्यक रहेको बताए । ‘रेडपान्डा संरक्षण गर्न अलि चुनौतीपूर्ण पनि छ,’ उनले भने, ‘यसमा कसैको एकल प्रयास सम्भव हुँदैन, सबैले संयुक्त प्रयास गर्नुपर्छ ।’

संरक्षण चुनौतीपूर्ण

रेडपान्डा संरक्षणमा मानवीय गतिविधि नै प्रमुख चुनौती बनिरहेको छ । सरकारी तथा गैरसरकारी संघ–संस्थाले लामो समयदेखि संरक्षणमा पहल गरिरहेपनि पर्याप्त हुन सकेको छैन । इलाम, पाँचथर र ताप्लेजुङका लेकाली भेगमा पाइने रेडपान्डा संरक्षणका लागि रेडपान्डा नेटवर्क, उच्च पहाडी संस्था, वन कार्यालयलगायतले प्रयास गरिरहेका छन् ।

तर, बेला–बेला यिनै क्षेत्रमा मृत रेडपान्डा फेला पर्ने, कहिले वनमै पासो थापिएको पाइने गरेकाले रेडपान्डा संरक्षण अझै चुनौतीपूर्ण नै छ । संरक्षणकर्ताले रेडपान्डा बचाउन अझै प्रयास जरुरी भएको बताएका छन् । उनीहरूका अनुसार भएका रेडपान्डा संरक्षण गर्न र संख्या बढाउन प्रकृति संरक्षण र जनचेतना अभिवृद्धि आवश्यक रहेको जनाए ।

रेडपान्डा नेटवर्कका सोनामटासी लामा मानवीय क्रियाकलाप नै रेडपान्डाका लागि चुनौती हुने बताउँछन् । ‘यो लोपोन्मुख जनावरलाई मानिसको गतिविधिले प्रभावित गरिरहेको छ,’ उनी भन्छन्, ‘अन्य जंगली जनावरभन्दा पनि मानिसबाट नै रेडपान्डा जोखिममा देखिएको छ ।’ ज्यादै लजालु स्वभावको रेडपान्डा मानिस देख्दासमेत नभाग्ने भएकाले मानिसबाट बचाउन चुनौती देखिएको संरक्षणकर्ताको भनाइ छ । यसको बासस्थान, खानेकुरा र प्रजनन संरक्षण गर्नसके मात्रै लोपोन्मुख रेडपान्डा जोगिने उनीहरू बताउँछन् ।

केही वर्षअघि इलाममा कुकुरले मारेको अवस्थामा रेडपान्डा फेला परेको थियो । त्यसबेला रेडपान्डाका बच्चा एउटा रुखमा मृत फेला परेका थिए । रेडपान्डा कहिलेकाहीं गाउँबस्तीतिरसमेत आउने भएपनि के कारणले यसरी आक्कलझुक्कल रेडपान्डा गाउँ पस्छन् भन्ने अध्ययन हुन बाँकी रहेको संरक्षणकर्मी बताउँछन् ।

नेटवर्कको केही समयअघिको तथ्यांकअनुसार इलाम, पाँचथर, ताप्लेजुङदेखि कालिकोट र जुम्लासम्मका २५ जिल्लामा रेडपान्डा पाइन्छ । ‘नेपालमा रेडपान्डाको संख्या यति नै छ भन्ने तथ्यांक छैन,’ संरक्षणकर्मी भन्छन्, ‘नेपालमा पाँच सयदेखि हजार र विश्वमा १० हजार हाराहारी रेडपान्डा पाइने अनुमान छ ।’

जैविक विविधतामा रेडपान्डाको भूमिका महत्त्वपूर्ण रहेको विज्ञहरू बताउँछन् । भारतीय सिंहलीला नेसनल पार्कमा हरेक वर्षायाममा मानिस आउ–जाउमा प्रतिबन्ध लगाइन्छ । यो पार्कसँग सीमा जोडिएको इलामको चोयाटार वनमा पनि जेठदेखि कात्तिकसम्म मानिस पस्न निषेध गर्ने गरिएको छ । from palikapage

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय